लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज भएको बम विस्फोट आफ्नो पार्टीले गराएको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले स्वीकार गरेको छ ।
आइतबार मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर सो बम विस्फोटको जिम्मा लिएका हुन् ।
तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सिरहाको लहान नगरपालिकाअन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘भ्रष्टाचार जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने’ जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । आज दिउँसो भएको सो बम विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते भएका छन् ।
विस्फोटमा गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो
बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
बम विस्फोटमा गम्भीर घाइते दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइएको हो ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।
बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
बम विष्फोटपछि आगलागी हुँदा कार्यालयको कागजात जलेको प्रहरीले बताएको छ । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव उक्त समुहमा गोइतपछिका दोस्रो वरियताका कमाण्डर थिए।