काठमाडौं । केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपालको निवासमा पुगे ।
नेता नेपाल एमालेतिर वाध्यताले फर्किए पनि उनको मन दाहालसँगै निकट छ भन्ने आरोप लागिरहेका बेला दाहाल र नेपालबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।
नेकपामा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका दाहाल–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो । सर्वोच्च अदालतले दुई वटा पार्टीलाई अलगअलग बनाइदिएपछि पनि दाहाल र नेपालहरुले नेकपाको स्थायी कमिटी वैठक बस्नुले विभिन्न प्रश्न खडा भएका छन् । सोही बैठकपछि उनीहरु आ–आफ्नो पार्टीमा फर्किने निर्णय गरेका छन् ।
अहिले पनि माधव समूह एमालेमा फर्किन र पार्टीलाई अगाडि बढाउन निकै सकस मानिरहेको देखिन्छ । माधव समूहले आफ्नो गुटको भेला गर्नुका साथै भेलाका निर्णय माओवादी समूहलाई जानकारी गराउने, माओवादीले गरेको निर्णय माधव समूहलाई सुनाउने गर्दै आएका छन् । शनिबार माओवादीको स्थायी कमिटी वैठक चलिरहेका बेला एमालेका उपाध्यक्ष (माधव समूहका नेता) भीम रावल वैठकमा झण्डै आधा घण्टा सहभागि भएका थिए । त्यस्तै आज माओवादीका अध्यक्ष दाहाल आफ्नो पार्टीको केन्द्रीय कमिटी वैठक पछि नेता नेपाललाई भेट्न पुगेका छन् ।
पार्टी व्यूँतिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भेट नगरेका नेपालले माओवादीका अध्यक्ष दाहालसँग पटकपटक भेट गरेका छन् । यसलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । नेता नेपाल समूह एमालेमा फर्किनु पर्ने वाध्यतामा परेपछि पनि उनीहरुले एमालेभित्रै रहेर ओलीविरुद्ध लड्ने बताइसकेका छन् । त्यस्तै माओवादीका अध्यक्ष दाहालले एमाले माधव समूहले कब्जा गर्ने र नसके विद्रोह गर्ने दावी गरेका थिए । दाहालको यस्तो दावी र माधव नेपाल समूहका गतिविधिले अध्यक्ष ओली अझै सशंकित हुँदै गएको देखिन्छ ।