काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाए पुन: दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार पस्ने बताउनुभएको छ । उहाँले आफूलाई सरकारबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौती समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दाबी गर्नुभयो ।
अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुई तिहाई लिएर सिंहदरबारको मुलगेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’
एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेता माधवकुमार नेपालसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं ।’
प्रधानमन्त्री ओलीले पार्टीमा काम गर्नका लागि फर्किन नेपाल पक्षलाई आह्वान गर्नुभयो । उहाँले आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पनि नेपाल पक्षलाई भन्नुभएको छ ।