काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएकाे तर निष्कर्षमा नपुगेको बताउनुभएको छ । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व तहसँगको भेटवार्तापछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताउनुभयो ।
‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ,’ अध्यक्ष ठाकुरले भन्नुभयो । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उहाँले बताउनुभयो । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताउनुभयो ।
‘हामीले कहीँ पनि आफूलाई सुरक्षाको महसुस गरेका छैनौँ’, उहाँले भन्नुभयो । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर निष्कर्ष भने निस्किएको छैन ।
जसपाका नेताहरूले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइलगायतका कुराहरु तीन दलका शीर्ष नेताहरुसमक्ष जोडतोडका साथ उठाइरहनुभएको छ ।