काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सो पार्टीको शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।
नेकपा एमालेको कमिटीमा राखिएका गृहमन्त्री रामबहादुर थापासहित संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।
सरकारमा माओवादी केन्द्रमा रहेका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका रहनुभएकाे छ । उहाँहरुमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुनुहुन्छ भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । सो पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
२०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ भने चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत् राखिएको जानकारी प्राप्त भएको छ ।