काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान राजनीतिक अन्यौल अन्त्य गर्न भन्दै आगामी सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
आफ्नो पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहनुभएका कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्नुहुने भएको हो ।
सभापति देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही दिनअघिदेखि पहल गरिरहे पनि सभापति देउवा आफैं भने अलमलमा हुनुहुन्थ्यो । पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक प्रधानमन्त्री बन्न अगाडि सर्नुभएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारोमा पर्नुभएको थियो । उहाँले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको बताउनुभएको थियो । यसैबीच सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो ।
कांग्रेसभित्रै आन्तरिक समझदारी जुटाउन पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले देउवालाई प्रधानमन्त्रीका रूपमा सर्वसम्मत स्विकारेपछि देउवाले वैकल्पिक सरकार निर्माणका लागि अगाडि बढ्ने संकेत गर्नुभएको बताउनु भयो ।
‘कांग्रेसका लागि अवसर आएको छ, अब यो अन्योललाई धेरै अघि बढ्न दिन हुन्न, हामीभन्दा तपाईं नै सत्ताको राम्रो खेलाडी हुनुहुन्छ, क–कसलाई के–के जिम्मेवारी दिने हो दिनुहोस्,’ बैठकमा सिटौलाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बनाउन अगाडि बढ्नुहोस् ।’
अप्ठ्यारो परिस्थितिमा दलहरूसँग संयोजन गर्दै आवश्यक पर्दा सरकारको नेतृत्वसमेत लिने गरी तीन दलको गठबन्धन बनाउन पहल थाल्नुपर्ने धारणा आफूहरूले बनाएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । ‘कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिइएको हो । सरकारमा जान हुन्न । फ्लोरबाट सहयोग गर्नुपर्छ भन्ने मलगायत केही साथीहरूको धारणा रहेको छ,’ केसीले भन्नुभयो, ‘तर परिस्थिति जटिल बन्दै जान थालेपछि वैकल्पिक सरकारको नेतृत्व लिन गम्भीर भएर सोच्नुपर्छ भन्ने साझा धारणा पार्टीमा बनेको छ ।’