काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ । त्यसका लागि २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।
यसअघि कमिटीमा एमालेमा रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आउनुभएका २३ जनालाई केन्द्रीय सदस्यमा थपी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरिएको छ ।
बैठकमा सहभागी हुनुभएका केन्द्रीय सदस्य दिपक देवकोटाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दुई चरणको बैठक सम्पन्न भएको थियो । सो बैठकले पार्टी अध्यक्ष तथा महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । बैठकले २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयका रुपमा परिभाषित गरेको नेता छ ।
आजको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय सदस्य देवकोटाका अनुसार प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय सदस्य देवकोटाका अनुसार एमालेको नवौं महाधिवेशनपछि बसेको नवौं बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो ।
आज बसेको दशौं बैठकले २३ जना थप गरी २६४ पु¥याएको छ । माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, प्रभु साहलगायत रहनुभएको छ ।
आजको बैठकले अबको ६ महिनाभित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । केन्द्रीय सदस्य देवकोटाका अनुसार आजको बैठकले विधानको दफा ६५ (३०) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो ।
१० औं र ११ औं बैठक सम्पन्न भएको र १२ औं बैठक चैत ७ गतेका लागि आव्हान भएको छ । ७ गतेको बैठकमा माधवकुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरुलाई पनि जानकारी गराउने निर्णय बैठकले गरेको छ । उहाँका अनुसार १० औं महाधिवेशनको मिति तय भए पनि स्थान अझै तय भएको छैन । बैठकले आगामी असार मसान्तभित्र पार्टीका सबै सदस्यता नविकरण गरिसक्ने निर्णय समेत गरेको छ ।