काठमाडौं । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको भेटवार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको नेताहरुले बताउनुभएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सम्पन्न उच्चस्तरीय भेटघाट सकारात्मक रहेको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो वार्ता सकारात्मक भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले खारेज गरेपछि परिवर्तित राजनीतिक वातावरणमा नेकपा एमाले र जसपाबीच सत्ता साझेदारीको कसरत भइरहेको छ । सोही क्रममा दुवै दलका तर्फबाट कार्यदल निर्माण भएको र शुक्रबार समेत कार्यदलस्तरमा अनौपचारिक छलफल हुने स्रोतले बताएको छ । शीर्ष नेताहरुबीचको छलफल सकारात्मक भएकाले यसलाई शुक्रबार समेत निरन्तरता दिने सहमति भएको नेताहरुले बताउनुभएको छ ।
यसअघि दुई दलका बीचमा अनौपचारिक छलफलहरु भएका र त्यसका बारेमा पनि शीर्ष तहको बैठकमा जानकारी गराउने काम भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । भेटवार्तामा मधेश तथा थरुहट आन्दोलनको क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायत विषयमा जसपाका नेताहरुले ध्यानाकर्षण गराएको उहाँले जानकारी गराउनुभयो ।
जसपाले उठाएको मागका बारेमा पार्टी तथा सरकार सकारात्मक रहेको र यसको बारेमा विस्तृत छलफल गरेर टुंगो लगाउने सहमति भएको बताइएको छ । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पनि आफूहरुले उठाउँदै आएको मागप्रति एमाले पार्टी र त्यसले नेतृत्व गरेको सरकार सकारात्मक रहेको बताउनुभयो ।
सरकार र जसपा नेपालबीच गठन भएको कार्यदलले शनिवारदेखि छलफल गरेर त्यसलाई टुगों लगाउने र त्यसपछि पुनः शीर्ष तहमा कुरा हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली पनि जसपा नेपालको मागप्रति सकारात्मक रहेको र चाँडो त्यसलाई टुगों लगाउने उहाँले प्रतिवद्धता जनाएको नेता कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा भन्दा अहिले प्रधानमन्त्री निकै सकारात्मक देखिनुभएको छ, मधेशको मुद्दा समाधान गर्न सकारात्मक पनि हुनुहुन्छ ।’
दुई दलका बीचमा वार्ता र छलफल गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । त्यसलाई पाँच सदस्यीय बनाउने सहमति पनि भएको छ । कार्यदलमा एमालेका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेता नेम्वाङ रहनुभएको छ भने जसपा नेपालका तर्फबाट कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । तत्कालिन समाजवादीको तर्फबाट एकजना राखिने सो कार्यदलको बैठक शुक्रबार ४ बजे बस्नेछ ।