काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको नेपाल समूहले पार्टीको एकता र शक्तिलाई कमजोर पार्ने काम कोही कसैबाट गर्न नहुने निष्कर्ष निकालेको छ । राजधानीको एक होटलमा बिहीबार बसेको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरुको भेलाले सो निष्कर्ष निकालेको हो ।
एमालेको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैबाट भए त्यसविरुद्ध थप कदम चाल्ने संकेत सो समूहले गरेको छ ।
भेलामा सहभागी एमाले नेता भीम रावलका अनुसार एमालेको एकतालाई कमजोर गर्ने काम हुन थालेपछि नहोस् र कसरी सक्रियतापूर्वक लाग्ने, प्रक्रियागत रुपमा अघि बढाउने भन्ने विषयमा छलफल भएको थिये । ‘नेकपा एमालेको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैबाट पनि हुनुहुँदैन । यदि त्यहाँ बाध्यात्मक स्थिति सिर्जना भएको अवस्थामा थप निर्णय गर्न सकिन्छ,’ नेता रावलले भन्नुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले नेकपा एमाले पुनः विभाजन हुने कुराको कल्पनासमेत गर्न नसकिने प्रतिक्रिया दिनुभयो । नेपाल समूहले बुधबार नयाँ बानेश्वरमै आफूनिकट केन्द्रीय सदस्यहरुको भेला डाकेर छलफल गरेको थियो ।
भेलामा मुलुकको पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । भेलामा सहभागी केन्द्रीय सदस्य झपटबहादुर रावलले समग्र पार्टीलाई कसरी व्यवस्थित गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।