काठमाडौँ । नेपाली सेनाले आज सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।
सो समारोहमा सहभागी भई सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण कार्यक्रमको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन आयोजित समारोहमा उहाँलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्प अर्पणसमेत गर्नुभयो ।
सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि समेत गरियो । नेपाली सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकी देखाएको थियो ।
यस्तैगरी सो समारोहमा आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकी पनि प्रदर्शन गरेको थियो ।
राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२०’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकको विमोचन गर्नुभएको थियो ।
त्यस्तै राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो थियो । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।
सो समारोहमा विभिन्न महानुभावहरुलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ बाट सम्मान गरिएको थियो । यसरी निशान प्राप्त गर्नेमा सैनिक र गैरसैनिक गरी एक हजार तीन सय ४७ जना हुनुहुन्छ ।
सो समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न मुलुकका राजदूतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले विभिन्न प्रतियोगितामा विजेता सैनिक अधिकृतलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै भूतपूर्व सैनिक, उत्कृष्ट कृषक, उद्यमी, समाजसेवा, लघुउद्यमी सम्मानसमेत प्रदान गर्नुभएको थियो ।