काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तासमीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलका शीर्ष नेतासँग वार्ता गर्ने निर्णय गरेको छ । सो वार्ता गर्ने जिम्मेवारी शीर्षलाई दिइएको छ ।
यसअघि सरकारमा सहभागिताको विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले छलफल गरिरहनुभएको थियो ।
पार्टी कार्यालयमा बिहीबार बसेको शीर्ष नेताको बैठकले वर्तमान राजनीतिक संकटको अन्त्यका लागि नेकपा–एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलसँग पाँचै शीर्ष नेताले छलफल गर्ने निर्णय भएको हो ।
आगामी नयाँ सरकार गठनमा निर्णायक रहेको जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो रहेको शीर्ष नेताहरुको टोलीले सो जिम्मेवारी लिने भएको हो ।
राजनीतिक संकट समाधानका लागि संसदमा रहेका सबै दलसँग खुला रुपमा जसपाका पाँचै जना नेताले संयुक्त रुपमा छलफल गर्ने बताइएको छ ।
जसपाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि चैत्र ५ गते पार्टीको कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।
मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले सत्ता समीकरणमा आफ्नो पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन गर्नेसँग मिलेर जाने सहमति गरेका छन् ।