काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने भ्रमणमा जानुहुने भएको छ । राष्ट्रपति भण्डारी चैतको दोस्रो साता त्यसतर्फ जानुहुने कार्यक्रम तय गरिएको हो ।
बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको हो ।
गत वर्ष नै राष्ट्रपति भण्डारीले बंगलादेश भ्रमण गर्नुहुने कार्यक्रम तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
गत वर्ष बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आउनुभएको थियो । त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि राष्ट्रप्रमुख तहबाट नै बंगलादेश भ्रमण गर्ने योजना बनेको हो । यद्यपि कोरोना महामारीका कारण रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो ।
बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती चैत ४ देखि १३ सम्म १० दिन मनाउने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी बंगलादेशको भ्रमणका लागि चैत ९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बंगलादेशमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनासँग भेट वार्ता गर्नुहुने बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश जाने कार्यक्रम रहेको छ ।
भण्डारीको भ्रमणलगत्तै चैत १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको भ्रमण गर्ने कार्यक्रम छ । त्यसअघि चैत ४ गते माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले भ्रमण गर्ने कार्यक्रम छ । चैत ४ गते रहमानको जन्मजयन्ती हो भने चैत १३ गते बंगलादेश स्थापना भएको दिन हो ।