काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीले लामो समयदेखि सुन बजारमा देखिएको अभाव हटाउन राखेको माग सरकारले छिट्टै सम्बोधन गर्ने बताउनुभएको छ । उहाँले बजारमा देखिएको सुनको अभाव हटाउन सुनको आपूर्ति बढाउने दिशामा सरकार सकारात्मक रहेको बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीसँगको भेटका क्रममा बुधबार अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको र केही दिनभित्रै यस विषयमा निर्णय हुने पनि जानकारी दिनुभयो ।
अहिलेको बजारको वास्तविक मागका विषयमा व्यवसायीसँग अर्थमन्त्री पौडेले सोध्नुभएको महासङ्घले जनाएको छ । भेटमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सल्लाहकार एवं सभासद छविलाल विश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेललाई आग्रह गर्नुभयो । सरकारले कोभिडका कारण भएको बन्दाबन्दीका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ ।
उहाँले आवश्यक मात्रामा कच्चा सुन उपलब्ध नहुँदा बजारमा अवैध रूपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको स्पष्ट पार्नुभयो ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । बन्दाबन्दीअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।