काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला रोग सम्बन्धी विशेषज्ञ सेवा नेपालमै दिइने बताउनुभएको छ । साथै उहाँले सो सेवा छिटै सुरु गरिने पनि बताउनुभयो ।
आज विहान विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिटै विशेषज्ञ सेवा केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु अहोरात्र खटिरहनुभएको जानकारी गराउनुभयो ।
मृगौला रोगबाट कसरी बच्न सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनइँदैछ ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्न खानपिन वा व्यवहार के हो र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने कुराहरुलाई ध्यान दिन जरुरी रहेकोमा प्रधानमन्त्री ओलाीको जोड थियो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस्, यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने विषयमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गर्नुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाइ थियो ।
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओली सम्बोधन सकिएपछि प्रभातफेरीमा समेत सहभागी हुनुभयो ।