वीरगन्ज । उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद स्वाभाविक रुपमा नचल्ने हो भने मुलुक ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभएको छ । वीरगन्जमा प्रेस संगठन पर्साले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले ‘संसद स्वाभाविक प्रकृया अनुसार नचले मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेकाले सोही अनुसार अब अगाडि बढ्ने बताउनुभएको छ । उहाँले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिइने पनि बताउनुभयो ।
सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसलाई नै केन्द्रबिन्दुमा राखेर सरकार र एमाले अगाडि बढ्ने महासचिव पोखरेलले बताउनुभयो । अब एमालेले सबै बामपन्थी शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
एक फरक प्रसङ्गमा धारणा राख्दै उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणका कारण बन्द गरिएका भारतसँग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरु औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिट्टै निर्णय गर्ने जानकारी दिनभुयो ।
प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको सो पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका नेताहरु प्रभु हजरा, जय प्रकाश थारु, विश्वम्भर शर्मा, निर्मला देवकोटालगायतका नेताहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो।