काठमाडौं । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवजीको विधिपूर्वक पूजा–आराधना गरी आज मुलुकभर मनाइँदैछ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म रहेको छ ।
मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा पर ब्रह्मले शिवरुप धारण गरेकाले तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोक प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।
हिन्दू धर्मावलम्बीमा विश्वास गर्नेहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नाममा मनाइने यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिका विभिन्न नामले पुकारिन्छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा समेत लिइन्छ ।
विभिन्न व्रतहरुमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन रहेको छ ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।
पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । तर यस वर्ष भारतबाट आउने नागा बाबाहरुको संख्या भने कम भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन रहेको छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान् महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनुभयो ।
तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो ।
यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले सदस्य सचिव ढकालले बताउनुभयो ।
महाशिवरात्रिका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ ।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपतिनाथको दर्शनका लागि तीन लाइन
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषले बताएको छ ।
तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।
यसैगरी डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।