।काठमाडौं । नेपाल पुलिस क्लवले काठमाडौं ११ लाई एक सय तीन रनले पराजित गर्दै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा काठमाडौं मेयर कपको फाइनलमा नेपाल पुलिस पुगेको हो ।
पुलिस क्लवले चार खेलबाट छ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन खेलबाट चार अंक र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले तीन खेलबाट दुई अंक जोडेका छन् ।
एपीएफले अब काठमाडौं ११ सँग र त्रिभुवन आर्मीले बागमतीसँग खेल्न बाँकी छ। त्रिभुवन आर्मीले जिते पनि चार अंक हुनेछ । त्यसकारण पुलिस क्लवले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। लिग चरणको शीर्ष दुईमा रहने टिमले फाइनलमा स्थान बनाउने छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं ११ ले ३१.२ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।
काठमाडौं ११ का लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा धेरै २६ रन बनाउनुभयो । कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि पवनले चार विकेट लिनुभयो । उहाँले ६.२ ओभरमा एक मेडन सहित १६ दिएर चार विकेट लिनुभएको हो । दीपेन्द्रसिंहले आठ ओभरमा तीन मेडनसहित १८ रन दिएर तीन विकेट लिनुभयो । ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । सागर ढकालको नाममा एक विकेट रह्यो ।
त्यसअघि पुलिस क्लवका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाउनुभएको थियो । कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दीलिप नाथले १२ रन बनाउनुभएको थियो ।
काठमाडौं ११ का विपिन खत्री, हरिशंकर शाह र सन्दीप लामिछानेले समान तीनरतीन विकेट लिए। अनिल खरेलको नाममा एक विकेट रह्यो।