काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले सम्भव भएसम्म कम्युनिष्ट सरकार टिकाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
बुधबार काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बसेको सो पक्षको छलफलमा विगतमा पार्टीभित्र जे जस्ता असन्तुष्टि भए पनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
नेता पन्तका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्थाको समग्र परिस्थितिको समिक्षा गर्दै पार्टीलाई एकतावद्ध बनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । पन्तले भन्नुभयो, ‘सर्वोच्चको फैसलापछि दुई भएका एमाले र माओवादीबीचको एकता सम्भव होला नहोला तर बाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय भएको छ।’
सो भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् ।
सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्यूँतिएसँगै नेपाल समूह सोमबार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर एमालेमै फर्किएका थिए ।