काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु फेरि माओवादी केन्द्रमा नफर्किने घोषणा गर्नुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘हामी अब फेरि माओवादीमा फर्किदैनौ ।’ सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्रबाट निर्वाचित उहाँले अहिले आफूहरुले छलफल गरिरहेको भए पनि पार्टीमा फर्किने सम्भावना भने धेरै कम रहेको बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिरहेको र अबको केही दिनमा यसबारे ठोस निर्णय गरिने छ । उहाँले भन्नुभयो, ‘हामी अहिले छलफलमा छौं । प्रधानमन्त्री ज्यूसँग पनि छलफल गरिरहेका छौं, अबको केही दिनमा निर्णय लिन्छौं।’
माओवादी केन्द्रमा फर्किने सम्भावना कत्ति छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा त्यसको सम्भावना कम रहेको मन्त्री भट्टले बताउनुभयो । उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि फकिर्न सम्भावना आफूले नदेखेको बताउनुभयो । ‘पार्टीले समर्थन फिर्ता लिए पनि हामी फर्किने सम्भावना म देख्दिँन,’ उहाँले बताउनुभयो ।