काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट बताउनु भएको हो ।
यसैवीच एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग हालसम्म वार्ता नभएको बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा नेता नेपालले भन्नुभयो, ‘सरकारका मान्छेले मसँग कुरा गरेका छैनन्। सरकार टिकाउने÷नटिकाउने कसैले कुरा केहि हुन पाएको छैन ।’ ओली सरकारलाई हटाउने बारेमा कुरा नभएको पनि बताउनु भएको छ ।
केन्द्रीय समितिको बैठक बोलाउने विषयमा ओली पक्षले आफुसँग हालसम्म संवाद नगरेको वताउँदै नेता नेपालले छलफल र विवादबाट आफू नडराउने बताउनु भयो ।
पार्टी सञ्चालनका सन्दर्भमा छलफल हुने वताउँदै नेता नेपालले भन्नुभयो – ‘पार्टी कसरी लैजाने हामीले छलफल गर्छौं। सत्ता र जनतामा कसरी लैजाने छलफल गर्छ। विमतीलाई सम्वोधन कसरी गर्ने सल्लाह गर्छौं ।’
नेता खनाल, नेपाल र उनी पक्षले पुष्पकमल दाहालको पछि लागेर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न ठूलो प्रयत्न गरेका थिए । तर उनीहरु सरकार ढाल्न असफल भएका छन् । अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि पुरानै अवस्थामा दुई पार्टी फर्किएका छन् । नेता नेपाल, खनालपक्ष पनि सरकारलाई बलियो बनाउन र टिकाउन होइन, आफ्नो सांसद पद जोगाउन एमालेमै फर्किएका छन् । अब उनीहरुले ओली नेतृत्वको सरकार चाहेर पनि प्रत्यक्ष संलग्नतामा ढाल्न सक्ने अवस्था छैन । भित्रभित्र चलखेल गर्न भने सक्छन् । उनीहरुको शरिर ओलीसँग भएपनि मन पुष्पकमल दाहालसँगै रहेको टिप्पणी भइरहेको छ ।