काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले नेपालको शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने धारणा उहाँले राख्नुभयो ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औँ स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई कसैले पनि अनावश्यक विवादमा तान्न नहुने बताउनुभयो ।
परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको भूमिकामा समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति गलत भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उल्लंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । त्यसैले वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्नु हुँदैन ।’
उहाँले न्यायोचित शैन्य शक्तिको प्रयोगमा जोड दिनुहुँदै सैन्य शक्ति सदैव राष्ट्रिय हितका लागि मात्र प्रयोग हुने विचार व्यक्त गर्नुभयो । प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवाजन्य काम सेनाले गर्दै आएको भन्दै प्रधानमन्त्री अोलीले पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताउनुभयो । ‘अप्ठेरो पर्दा हामी सेनालाई सम्झन्छौँ । सेनाको गौरवपूर्ण इतिहाहास छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थापनामा सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।