काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व तथा सेना दिवस–२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघसंस्थाहरुको सहकार्यमा ऐतिहासिक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुदको विकासमा सहयोग पु–याउने उद्देश्यले लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिता सम्पन्न गरिएको छ ।
सो प्रतियोगिता गत सोमबार सञ्चालन गरिएको उपरथी सुरेशकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो दौड प्रतियोगितामा नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, भोटेकोशी र ईन्द्रावति गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधिहरु, विशेष अतिथि बैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न व्यवसायी तथा संघ संस्थाहरुका प्रमुख, सञ्चारकर्मीहरु, खेलाडीहरु र स्थानीयहरुको वाक्लो उपस्थिति रहेको थियो ।
२४३ खेलाडीहरु सहभागीहरुको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा खुल्लातर्फ सुमन कुलुङ्ग, अनिस थापा मगर र बेदबहादुर सुनुवार क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने महिला तर्फ अनिता राई, हुमी बुढा मगर र गिता बिकले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोकबासीका तर्फबाट कृष्ण बहादुर पौडेल, श्याम तामाङ र सहदेब खत्रीे क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । विजेता खेलाडीहरुलाई नगद तथा प्रमाण प्रमुख अतिथिबाट प्रदान गरिएको थियो ।