काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिक्षेत्र वरपरको ट्राफिक व्यवस्थापन भरपर्दो मिलाइएको जनाएको छ ।
महाशाखाका प्रवक्ता,प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीेका अनुसार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको छ । विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाटाढाबाट भक्तजनहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्बाध आवतजावतको व्यवस्था मिलाइएको छ । प्रवक्ता अधिकारका अनुसार पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।
नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।
चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने जानकारी समेत एसएसपी भट्टराईले दिनुभयो ।
मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ ।
यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकाली भित्र राख्ने व्यवस्था गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।