वीरगञ्ज । बङ्गलादेशबाट आएको पहिलो चरणको युरिया मल मंगलबार दिउँसो वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ ।
वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहमा मंगलबार दिउँसो ३ बजे नेपाल सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार) मार्फत् गरेको सम्झौता अनुरूप पहिलो खेपको युरिया मल आएको हो ।
कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले दिएको जानकारी अनुसार सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार) मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मलमध्ये २५ सय बोरा मंगलबार दिउँसो वीरगञ्ज आइपुगेको छ ।
वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा धमाधम रेल–वेबाट भन्सार यार्ड र गोदाममा मल राख्ने काम भइरहेको छ । बुधबारदेखि नै कृषि सामग्री केन्द्र लिमिटेडको वीरगञ्जस्थित गोदामहरुमा ट्रकमार्फत् मल ओसार्ने काम सुरु गरिने बताइएको छ । पहिलो चरणमा आउन थालेको २२ हजार पाँच सय मेट्रिक टन युरिया मलमा वीरगञ्जका लागि नौ हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार ६२५ मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन छुट्याइएको छ ।
धान रोप्ने तथा गोड्ने समयमा युरिया मलको अभाव भएपछि तत्कालका लागि बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले जनाएपछि सरकार–सरकारबीच सम्झौता गरी खरिद गरेर नै मल ल्याइएको हो ।
भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौता भएपछि कृषि मन्त्रालयले बङ्गलादेशबाट पैँचो मल ल्याउने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो बनेकाले सस्तो र राम्रो खरिद गरेर नै ल्याउँदा सजिलो हुने भएकाले कृषि मन्त्रालयले कात्तिक २४ गते मन्त्रिपरिषदबाट पुनः निर्णय गरी जीटुजीमार्फत् मल खरिद गरेर ल्याउने प्रक्रिया सुरु गरिएको थियो ।
सरकार–सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि पहिलो चरणको मल आइपुगेको हो । तीन चरणमा मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले गरेको छ । पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन , दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले गरेको छ । बङ्गलादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३ सय ४१ डलर लागतमा कृषि सामग्री केन्द्र लिमिटेडले मल ल्याइरहेको छ ।