काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ दल नेकपा एमालेसँग नयाँ सरकार गठनलगायत विषयमा छलफल गर्न दुई सदस्य रहेको वार्ता टोली गठन गरेको छ । सो वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनुभएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई बदर गरिदिएपछि अब संसदमा दुवै दल नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा रहने भएका छन् ।
सर्वोच्चको निर्णयपछि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।
नेकपा एमालेले सरकार गठनलगायतका विषयमा अन्य दलहरुसँग छलफल गर्न नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको वार्ता समिति गठन गरेको छ ।
यसैबीच आज भएको वार्तामा जसपाका नेताहरुले आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
‘जसपाका नेताले भने, ‘सांसद चौधरीका विषयमा उहाँहरुले राजनीतिक विषयमा भएको भन्ने जवाफ दिनुभएको छ। हामीले सबैलाई छाड्दै हुनुहुन्छ भने चौधरीलाई किन नछाड्ने भनेर प्रश्न गरेका छौँ ।’
यसैबीच आजै बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको स्रोतले बताएको छ । सो भेटका अवसरमा जसपा अध्यक्ष ठाकुरले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि एमाले अध्यक्ष ओलीले यसबारे केही स्पष्ट नगर्नुभएको स्रोतको दाबी छ ।