काठमाडौँ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने क पा)लाई खारेज गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरणलाई बदर गरेको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको जनाएको हो ।
दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सर्वोच्चको फैसला बमोजिम अलग–अलग राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका रुपमा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पार्टी पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोग आउन आग्रह गरेको छ ।