काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पार्टी पुनः एकीकरण गर्ने भए निर्वाचन आयोग आउन आग्रह गरेको छ । एकीकृत दलको रुपमा रहने भए १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णय गराएर निर्वाचन आयोग उपस्थित हुन आयोगले दुवै पार्टीलाई आग्रह गरेको हो ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन भनेको छ ।
‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाबाट बदर भएकोले अब यी दुई दलले फेरि दल एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ ।