दैलेख । आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँचजनामध्ये थप दुई जनाको शव फेला परेको छ । जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाल मंगलबार साँझ घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।
आमा सहित बेपत्ता भएकामध्ये १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमबार दिउँसो फेला परेको थियो । उनीहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेको थियो ।
बेपत्ता रहेका आमा सुकी बडुवाल, उनकी छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवालको खोजी गर्न आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आज दिउँसो १२ बजेतिर दुई जनाको शव फेला परेको हो । उहाँले सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललित बडुवालको शव फेला परेको बताउनुभयो । घटनास्थलमा रहेका डिएसपी श्रेष्ठले दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदीमा दुई जनाको शव फेला परेको छ । डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
थप दुई जनाको शव पनि कर्णाली नदीमै भेटिएपछि पाँचै जनाले कर्णाली नदीमा हाम फालेको पुष्टि भएको छ । यता सुकीका श्रीमान् मानबहादुर बडुवाललाई पक्राउ गरी अनुसन्धानसमेत थालेको प्रहरीले जनाएको छ । उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्त, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठसहितको प्रहरी टोली मंगलबार बिहानैदेखि घटनास्थलमा खटिएको छ ।