काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । आज विहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
पार्टी केन्द्रीय कार्यालयले आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।
एमाले र माओवादी केन्द्रबीच अलगअलग भएपछि एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।
जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहने र केही जिल्लामा बोर्डहरु फेरिसकेका छन् । केही दिनभित्रमा सवै जिल्लामा एमालेको बोर्ड राखिसक्ने बताइएको छ ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।
पुस ५ गते पछि नेकपा दुई समूहमा विभाजित भएका थिए । पूर्वएमालेको ठुलै संख्या पुष्पकमल दाहालको समूहमा गएको थियो भने पूर्वमाओवादीका केही नेता केपी शर्मा ओली समूहमा आएका थिए । माओवादीबाट ओली समूहमा आएका केही नेताहरुले ओलीलाई नै साथ दिने बताएका छन् भने केही नेताले एकदुई दिनमा निर्णय गर्ने बताएका छन् । तर पूर्व माओवादी नेता दाहालको समूहमा गएका पूर्व एमालेको समूह मै पुरै फर्किएको छ ।