काठमाडौँ । साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ ।
सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले पूर्व एमाले नेताहरु एमालेमै रहने र दाहालसहितका पूर्व माओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको बताइएको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो ।
‘सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भीर छलफल गरेको थियो ।
नेकपाको रुपमा भएको स्थायी कमिटीको यो बैठक नै अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको श्रेष्ठको भनाइ छ । यद्यपि सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय भइनसकेको उहाँले बताउनुभयो ।
श्रेष्ठले नेपालका कम्युनिष्टहरुलाई एउटै केन्द्रमा राख्ने पहलकदमी आफूहरुले जारी राख्ने बताउनुभयो । उहाँले नेपालको संविधान कार्यान्वयन गरेर समृद्ध नेपाल बनाउने र समृद्धिको प्रतिफल आम जनतालाई दिने गरी अगाडि बढ्न अरु सबै लोकतान्त्रिक शक्तिहरुसँग एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।
बैठकमा सर्वोच्चको फैसलाअनुसार तत्कालीन एमाले र माओवादी केन्द्र बन्ने उहाँले बताउनुभयो । बैठकले नेपाली कम्युनिष्ट आन्दोलनको ००६ सालदेखिको विकासक्रम र मुख्यतः २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यका बारेमा गम्भिरतापूर्वक अविचलित रुपमा अगाडि बढ्ने पनि संकल्प गरेको उहाँले बताउनुभयो ।