काठमाडौं । नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९२७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९७ हजार २३५ जनाको आरटीपीसीआर परीक्षण भएको छ ।
स्वाथ्य मन्त्रालयका अनुसार हाल ८७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा रहेका छन् । केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११ जनाको मृत्यु भइसकेको छ ।