काठमाडौं । आइतबार सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका तर सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ । सर्वोच्चको फैसलाबाट माओवादी केन्द्रमा परिणत भई सो पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरूले पुनःस्थापित नेकपा एमालेमै रहने बताउनुभएको हो ।
सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आगामी रणनीतिबारे आइतबार साँझ बालुवाटारमा छलफल गर्नुभएको थियो ।
सो छलफलमा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूको समेत सहभागिता थियो । प्रधानमन्त्री ओलीले अदालतको फैसलाबारे विचार गर्न अनुरोध गर्दै ‘अब तपाईंहरु के गर्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भन्नुभएको थियो ।
उक्त प्रश्नको जवाफमा सबैजना मन्त्रीहरुले पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने धारणा राख्नुभएको थियो ।
उच्च स्रोतका अनुसार उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभएको थियो । सो अवसरमा सबैजना मन्त्रीहरुले प्रधानमन्त्रीले निर्देशन दिए एक मिनेटमै पद छाड्न तयार रहेको तर साथ भने नछाड्ने बताउनुभयो ।
एमालेमा लागेपछि प्रचण्डले सांसद पद खारेजीको प्रक्रिया अगाडि बढाउन सक्ने तर प्रत्यक्ष निर्वाचित सांंसदको पद रिक्त गर्न सहज नहुने चर्चा पनि चलेको थियो । तर, सांसद पद महत्वपूर्ण नरहेको भन्दै सबै नेताले ओलीको साथ नछाड्ने प्रतिबद्धता जनाएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी शर्मा ओली पक्षमा छन् । संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने एक केन्द्रीय सदस्यले बताउनुभयो ।