तनहुँ । १११औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि धादिङकी रसिला तामाङले जित्नुभएको छ । व्यास नगरपालिका–३ स्थित व्यास गुफाबाट व्यास–११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारसम्मको २१ किलोमिटर दुरी एक घण्टा ४९ मिनेटमा पार गरी तामाङले प्रथम हुनुभएको हो ।
सोही दूरी १ घण्टा ४९ मिनेट १ सेकेण्डमा पार गरी खोटाङको ऐशेलु गाउँपालिका–२ की प्रिया राई द्वितीय हुनुभएको छ । त्यस्तै १ घण्टा ५५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी पोखराकी अनिता राई तृतीय हुनुभएको छ ।
त्यसैगरी प्रतियोगितामा कालिकोटकी विशेषता ऐरी, तनहुँको व्यास नगरपालिका–१० की नम्रता गुरुङ, ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुङ्गाकी पदम कुमारी सुनुवारले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । विजेताहरुलाई ४१ हजार ७७, ३१ हजार ७७, २१ हजार ७७ र सान्त्वना ५ जनालाई ११ हजार ७७ रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा तनहुँ लगायत कास्की, पर्वत, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ओखलढुङ्गा, कालीकोटका ५६ धावकको सहभागिता रहेको थियो ।
विगत वर्षहरुमा नारा जुलुस, सभा, सम्मेलन गरी दिवस मनाउने गरिएको भए पनि यस वर्षदेखि अर्थपूर्ण बनाउने उद्देश्यले म्याराथन प्रतियोगिता गरिएको व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशीले बताउनुभयो ।
व्यास गुफादेखि सफासडक हँुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, बाराही रानी मार्ग हुँदै दरैपधेँरा, पराशर मार्गको पराजुली चोक, बेलटारी रातमाटा, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्धीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर म्याराथनको रुट समाप्त भएको थियो ।