काठमाडौं । नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार फैसला दिएसँगै प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली समर्थकहरुले नेकपा एमाले ब्यूँतिएकोमा देशभर एकआपसमा खुसी साटासाट गरिरहेका छन् ।
सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि देशका विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्डलाई हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्ने कामलाई तीव्रता दिइएको छ । देशका विभिन्न जिल्लाहरु मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतमा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाउँदै नेकपा एमालेको साइनबोर्ड राखिरहेको खबरहरु प्राप्त भएका छन् ।