काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्न प्रश्नकर्ताहरुलाई सुझाउनुुभएको छ । हिजोबाट सुरु भएको पुनर्स्थापित संसदको पहिलो बैठकमा सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
‘प्रधानमन्त्री कुन पार्टीको हो भनेर बुझपचाउनेहरुप्रति व्यंग्य गर्दै उहाँले प्रधानमन्त्रीको पार्टी बुझ्न खोज्नेहरुलाई सर्वोच्च अदालत जान भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई सोध्ने मानिसलाई तपाईं कुन पार्टीको हो भनेर सोध्ने अवस्था आउने पनि बताउनुभयो ।
उहाँले अदालतको फैसलामा आफू कुन पार्टीको भनेर अदालतले स्पष्ट पारेको बताउनुभएको छ । नेकपाको नामको विषयमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण पूर्वको अवस्थामा पुर्याएको थियो ।
त्यसैगरी उहाँले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णय अहिले आएर सही भएको पनि बताउनुभयो ।
‘यतिखेर देश चुनावमा जान्थ्यो । चुनावपछि राम्रो सरकार बन्थ्यो त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोक्ने काम भयो । संसद् पुनःस्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन रहेछ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्दै वैशाखमा दुई चरणको चुनाव घोषणा गर्नुभएको थियो ।