काठमाडौँ । आगामी २७ गते बिहीबार हुने यसपालिकाे सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएकाे कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगत वर्षमा जस्तो सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आगामी २७ फागुन गते महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले काठमाडौको सैनिक मञ्च, टुँडिखेलमा सम्पन्न हुने मुख्य समारोहका लागि १२ सय फौज खटाएको छ । यसअघि सेना दिवसका अवसरमा ३ हजारभन्दा बढी सेनाकाे फौज परिचालन हुँदै आएका थिए । सेनाले फागुन २६ मा वीर स्मारक, छाउनीमा प्रधान सेनापतिबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकल दर्जाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकल दर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको छ।
यसैगरी २७ फागुनमा सैनिक मन्च, टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट पाराजम्प प्रदर्शनलाई भने निरन्तरता दिइने जनाइएकाे छ ।