काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानमा व्यवस्था भएअनुसार राजनीतिका साथै हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताउनुभएको छ । महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो रहेको उहाँले बताउनुभयो ।
१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुले हासिल गरेका राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक उपलब्धिको स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राट्रिय नारी दिवस मनाउने गरिन्छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।
यस नारालाई साकार पार्न महिला र पुरुषबीच विद्यमान आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा सिंगाे राज्यका सबै निकाय दृढतापूर्वक अगाडि जरुरी छ । लैङ्गिक समानता प्राप्तिको महान अभियानमा पुरुषको पनि सक्रिय साथ सहयोग र सहभागिता उत्तिकै आवश्यक छ । राष्ट्रपतिले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले महिलाको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा यस दिवसले प्रदान गरोस् भनी शुभकामना दिनुभयाे ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको उल्लेख गर्नुभएको छ । ऐतिहासिक जनआन्दोलनलगायत आमपरिर्वतनकारी आन्दोलनमा नेपाली महिलाले अग्रभागमा रहेर नेतृत्व गरेको स्मरण गर्नुहुँदै उहाँले देशको विकासमा महिला आमा दिदीबहिनीहरूको समान सहभागिता जरुरी रहेको बताउनुभयो ।
उहाँले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिनुहुँदै लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारले राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारले यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिने उहाँले सन्देशमा उल्लेख गर्नुृभएकाे छ । समाजको न्यून चेतनाका कारण समाजमा महिला उत्पीडिनका अवशेषहरू कायम रहेको समेत उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरूलाई हटाउन सकिँदैन, त्यसका लागि सामाजिक जागरुकता पनि आवश्यक छ ।” उहाँले विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनाको अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडाभन्दा कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसमेतको कानुनी व्यवस्था गरेको बताउनुभयो ।
महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीय स्तरमा विभिन्न संयन्त्रमार्फत् आवश्यक सेवा प्रवाह गरिरहेको समेत सन्देशमा प्रधानमन्त्री ओलीले चर्चा गर्नुभएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसले आफ्नो पार्टीको विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । सभापति देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।