काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परिवर्तित राजनीतिक परिस्थितिका कारण अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले आवश्यक परेमा संसदमा विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभयो ।
नेकपाको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले आइतबार दिएको फैसला र प्रतिनिधि सभा बैठकका कामकारबाहीका विषयमा छलफल गर्न आयोजित दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा पछिल्लो समयमा विकसित भएको राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी मजबुत बनाएर अगाडि लान सकिन्छ भन्ने विषयमा धारणा राख्नुहुँदै संसदमा विश्वासको मत लिएरै अगाडि बढ्ने बताउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको धारणा उल्लेख गर्नुहुँदै संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सर्वोच्च अदालतबाट आएको फैसलाले ऋषि कट्टेललाई जिताएको बताउनुभयो ।
मुख्य सचेतक भट्टराइका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो समय विकसित राजनीतिक घटना क्रममा पार्टीका कार्ययोजना, जिम्मेवारी व्यवस्थापनका लागि छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाई त्यसबारे निर्णय गरिने जानकारी दिनुभयो । उहाँले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने विषयमा समेत चर्चा गर्नुभएको थियो ।
दलका सचेतक शान्ता चौधरीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद् सञ्चालनमा सभामुखको भूमिका र शैलीप्रति समेत असन्तुष्टि जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी एकतालाई नयाँ ढङ्गबाट अगाडि बढाउन सकिने सम्भावनाबारे समेत चर्चा गर्नुभएको थियो । “हामीले कसैलाई कारबाही गरेका छैनौँ र निकालेका पनि छैनौँ । पार्टीमा सबैलाई स्वागत छ, नयाँ ढंगबाट अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्री ओलीको भनाइ उल्लेख गर्नुहुँदै सचेतक चौधरीले बताउनुभयो ।