काठमाडौँ — प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक फागुन २६ गते बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल(नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा पुनस्थापनापछि आइतबारका लागि बोलाइएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल(नेपाल) समूह र जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरुले भने त्यसअघि नै बैठक बहिष्कार गरेका थिए ।
५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । तर बैठकका लागि सहमति नजुटेपछि बैठक २६ गते बुधबार १ बजेसम्मका लागि सारिएको हो ।