काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामसम्बन्धी रिटमा सर्वोच्च अदालतले गरेको फैसला स्वागत गर्न योग्य रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन, वानेश्वर पुग्नुभएका प्रधानमन्त्री ओलीले भवनबाट बाहिर निस्किँदै सञ्चारकर्मीहरूको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले अबको कदमबारे सर्वोच्चको फैसलाको पूर्ण पाठ अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो ।
अदालतको फैसलाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरणअघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा रहेको समेत ठहर गरेको छ । अदालतले एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय ऐन विपरीत ठहर गर्दै खारेज गरिदिएको हो ।
अदालतको फैसलापछि अहिलेको सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको हैसियतमा पुगेको छ । केपी शर्मा ओली संविधानको धारा ७६(२) अनुसार संयुक्त सरकारको प्रधानमन्त्रीकै रूपमा नियुक्त हुनुभएको थियो ।
अब फेरि दुवै पार्टी एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दल दर्ता गर्न पनि अदालतले आदेश जारी गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भएका थिएनन् । यी पार्टी चुनावी गठबन्धन गरेर आआफ्नै चिह्नमा चुनाव लडेका थिए । निर्वाचन भएको ६ महिनापछि एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाम राखिएको थियो ।
पुस ५ गते संसद् विघटन भएपछि नेकपा विवादले दुई धार देखिएको थियो । प्रचण्ड–माधव समूह र केपी शर्मा ओली समूहले आ–आफ्नो पार्टी आधिकारिक भएको दाबी गरिरहेका बेला आएको यो फैसलाले दुवै समूहलाई पहिलेकै अवस्थामा पु¥याइदिएको छ । पूर्व एमाले र एमाओवादीबीच भएको एकीकरण नै सर्वोच्चले खारेज गरिदिएको छ । यसबाट नेकपाका दुवै समूहलाई आ–आफ्नो पार्टीको चुनाव चिह्न र पार्टीगत हैसियत देखाइदिएको छ ।