काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम बारेको मुद्दा टुंग्याएको छ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहालको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने पछि कट्टेलले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि अब ओली–दाहालले पार्टीको नाम परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा पेश गरेका थिए । आयोगले त्यसलाई मान्यता दिएको थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए । सो रिटको फैसला आज भएको हो ।