काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र संघीय संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ ।
नेकपाको दाहाल नेपाल खेमाको संसदीय दलले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डसमेतका नेताले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाइएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता गर्न महासचिव भरतराज गौतमलाई बुझाए पनि दर्ता गर्न अस्वीकार गरिएको हो ।
कानुन अनुसार छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै महासचिव गौतमले पत्र दर्ता नगरेको सांसद विरोध खतिवडाले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र दर्ताका लागि हामी सचिवालयमै छौं । तर महासचिव आवश्यक कानूनी परामर्शपछि मात्रै जवाफ दिने भन्नुभएको छ ।’
सांसद खतिवडाका अनुसार ओलीलाई दलको तेताबाट कारबाही गरेको जानकारीसहतको पत्र लिएर सिंहदरबारस्थित महासचिव भरतराज गौतमको कार्यकक्षमा दाहाल नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमारसहितका नेताहरु पुग्नुभएको छ ।
टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगायतका नेताहरु समेत सहभागी भएको सांसद खतिवडाले बताउनुभयो । प्रचण्ड नेपाल समूहको नेकपा संसदीय दलले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णयसमेत गरेको थियो ।
यसअघि नेकपाको दाहाल नेपाल समूहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो ।