दार्चुला । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्ड अन्तर्गत उचाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३८ वर्षीय जीप चालक करन नाथ, शैल्यशिखर नगरपालिका–८ का गाडीधनी ४० वर्षीय पदम राज पन्त र सोही ठाउँका ७० वर्षीया सुनादेबी पन्त रहेका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गाडी धनी पदम पन्तको गोकुलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ च १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीपमा सवार अन्य चारजना घाइते भएको स्थानीयले बताएका छन् । घाइते हुनेहरुमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिपल्ल्ब पन्त, ७० वर्षीया गंगादेबी पन्त, १२ वर्षीय मुकेस पन्त र ७ वर्षीय बसन्त पन्त रहेका छन् ।
दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको प्रहरीले जानकारी गराएको छ । । सडकबाट एक सय मिटर तल खसेको जीपमा पनि क्षति भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ । स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको छ ।