काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।
आज देउवा निवास बुढानिलकण्ठमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभयो ।
कांग्रेस सभापति देउवाले आफूलाई पदको लोभलालच नभएको भन्दै अहिले नै आफूलाई प्रधानमन्त्री हुने चाहना नरहेको बताउनुभयो ।
सत्तारुढ दल नेकपाको आफ्नै घरझगडा चलिरहेको भन्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा लागेर फस्न नचाहेको बताउनुभयो ।
पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘म प्रधानमन्त्रीको दौडमा छैन । मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन । उनीहरुको झगडामा म फस्न चाहन्नँ ।’
उहाँले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने समेत बताउनुभयो । नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले नेपाली कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको सभापति देउवाले बताउनुभयो ।