काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अवलोकन गर्नुभयो ।
अवलोकन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो समयदेखिको सपना पूरा भएको बताउनुभयो । मेलम्चीको पानी सुन्दरीजल झारेर बागमतीमा बगाउन सफल भएको भन्दै उहाँले अबको केही समयमै काठमाडौं उपत्यकाबासीको धारामा पानी पु-याउने बताउनुभयो ।
आजको दिन धेरै खुशीको दिन भएको बताउँदै उहाँले डाँडा छिचुलेर सुरुङबाट पानी ल्याउन सफल भएको बताउनुहुँदै सवैलाई धन्यवाद तथा बधाई समेत व्यक्त गर्नुभयो ।
पानी ल्याउने कुरा चल्दा आफ्नो कपाल कालो भएको र अहिले पानी खस्दा कतै कपाल कालो नभएको बताउनुहुँदै यो ठूलो सफलता भएको बताउनुभयो ।
मुख्य काम यसै सरकारको पालामा भएको बताउँदै प्रधानमन्त्री ओलीले मेलम्चीको यो कामले बर्तमान सरकारले गरेका काम प्रमाणित गरेको बताउनुभयो ।
विकासको काममा जनताको साथ चाहिएको बताउँदै उहाँले साथ भए विकासको गतिलाई अगाडि बढाउन सकिने बताउनुभयो । अब मेलम्चीको पानी ल्याउने सपना पूरा भएको बताउँदै अन्य विकासका कामको पनि सम्पन्न गरेर छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
बगेको पानीलाई विजुली निकाल्ने, सिँचाई वा खानेपानीका लागि सदुपयोग गरेर पानीको सदुपयोग गर्न आवश्यक भएको भन्दै सरकारले यसै अनुसार कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले विगत २२ वर्षदेखिको सपना पूरा भएको बताउनुभयो ।
आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रधानमन्त्रीले विशेष गरी मेलम्ची खानेपानीको बारेमा चासो देखाउनुभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीको चासोको कारण मेलम्चीको पानी काठमाडौं आउन सफल भएको बताउनुभयो । सुरुङको सफल परीक्षण भएको बताउँदै मन्त्री थापाले अबदेखि काठमाडौंबासीका लागि खानेपानीको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।