काठमाडौं । नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई दुई रनले हराएको छ । पुलिसले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याउँदै बागमती २७ ओभर २ बलमा मात्र ७० रनमा सीमित हुन पुग्यो ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको मेयर कप क्रिकेटको दोस्रो खेलमा साँधुरो लक्ष्य पछ्याउने क्रममा २१ रनमै दुई विकेट गुमाएको बागमतीका कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न नसक्दा उसले पराजय बेहोर्न पुगेको हो । ५७ रनमा पाँच विकेट गुमाएको बागमतीलाई जितका लागि १६ रन आवश्यक हुँदा थप १३ रन जोड्न पाँच विकेट गुमाएर ७० रनमा सीमित भयो । कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले दश रन बनाउनुका अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बागमतीका पारस खडका, सोनु देवकोटा, नन्दन यादब र रामनरेश गिरी डक आउट हुनुभयो ।
बागमतीलाई सस्तोमै समेट्न दीपेन्द्रसिंह ऐरीले सर्वाधिक चार विकेट लिनुभयो । सागर ढकालले दुई तथा ललित राजवंशीले तीन र राशिद खानले एक विकेट लिनुभयो ।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपाल पुलिस क्लब ७२ रनको झिनो योगफलमा सीमित भएको थियो । बागमतीले उसलाई २५ ओभर २ बलमा मात्र ७२ रनमा रोकेको हो ।
पुलिसले १९ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । ओपनर सुनिल धमलाले १० र कुशल भुर्तेलले दुई रन बनाएर पेभेलियन फर्किनुभयो । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठको रुपमा बागमतीका नन्दन यादवले लगालग तीन विकेट लिएपछि पुलिसको पारी धरमराउन पुग्यो । मध्यक्रममा अनिलकुमार साह र दिलीप नाथले सामान दश दश रन तथा मञ्जित श्रेष्ठले १५ रनको योगदान दिनुभयो ।
बागमतीका लागि नन्दन यादवले तीन तथा अरियो पौडेलले चार र सोनु देबकोटाले एक विकेट लिनुभएको थियो ।