काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जानकारी दिएको छ ।
नेकपाका सांसद खिमलाल भट्टराईका अनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलिसम्म १३० जनासम्म संख्या पुग्ने आशा गरिएको छ ।
नेकपा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहका साथ अघि बढ्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आफूहरु देश र जनताको पक्षमा सधैं रहेको हुनाले कसैले पनि चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताउनुहुँदै सरकार र पार्टीको पक्षमा एकताबद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भयो । भोलि आइतबार बस्ने संसद बैठकमा दलका तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने बताइएको छ ।