काठमाडौं । राजधानी काठमाडौंले लामो समयदेखि व्यघ्रताका साथ प्रतीक्षा गरेको बहुप्रतीक्षित मेलम्चीको पानी आज सुन्दरीजल झर्ने भएको छ । सुरुङबाट पानी आज सुन्दरीजल झर्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सामान्य अवस्थामै सुरुङबाट पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने भएको छ ।
सो सुरुङबाट आएको पानी सुरुमा बागमती नदीमा हालिनेछ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।
मेलम्चीको पानी आजै सुन्दरीजल झारिने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन तथा अनुगमन गर्ने कार्यक्रम रहेको छ । अपराह्न ४ बजे प्रधानमन्त्री ओली सुन्दरीजल जाने कार्यक्रम छ ।
सुरुङको अवस्था राम्रो भएपछि पानी वितरण प्रणालीमा जोडिने भएको छ । आयोजनाका अनुसार सोको लागि अझै केही समय पर्खिनुपर्ने जानकारी प्राप्त भएको छ ।
गत असार २९ गते नै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञ टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । त्यसपछि पुनः सुरुङ परीक्षण गरिएको थियो ।
मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने बताइएको छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान हुनेछ ।
अहिले उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट दैनिक आठ करोड लिटर पानीमात्रै वितरण गरिँदै आएको छ ।