काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको बताउनुभएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्य सचेतक भट्टराईले संसदीय दलका तर्फबाट दलको विधान बमोजिम विधिवत् रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहनुभएकाले अरु पत्र र दाबी गैरकानुनी रहेको दावी गर्नुभयो ।
प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड–माधव खेमाका सांसदहरूले संसद सचिवालयमा दर्ता गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको बताएका थिए ।
प्रेस विज्ञप्तिमा मुख्य सचेतक भट्टराईले भन्नुभएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’ उहाँले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताउनुभयो । उहाँले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै भ्रममा नपर्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।