काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यमान विवादको टुंगो आइतबार लगाउने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताउनुभयो ।
शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताउनुभएको प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्तले आइतबार आयोगको बैठक राखेर यस विषयमा निर्णय गर्ने जानकारी दिनुभयो । पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतका नेताहरु नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा चाँडो निर्णय दिन शुक्रबार आयोग पुग्नुभएको थियो ।